बाग्लुङको ढोरपाटनमा २२ वर्षदेखि रोकिएको ८२८ मेगावाटको उत्तरगंगा जलविद्युत आयोजना १ खर्ब ६४ अर्ब रुपैयाँ लागतमा अगाडि बढेको छ। यस्तै, पश्चिम सेती ४०० केभी प्रसारण लाइन पनि सार्वजनिक-निजी साझेदारीमा निर्माण हुने भएको छ।
उत्तरगंगा आयोजना २२ वर्षपछि गतिमा, लागत डेढ खर्बभन्दा बढी
बाग्लुङको ढोरपाटनमा बन्ने उत्तरगंगा आयोजनाले २२ वर्षपछि गति लिएको छ। २०६१ सालदेखि चर्चामा रहेको यो परियोजनाको लागत डेढ खर्ब बढी पुग्ने अनुमान छ। कुल १ खर्ब ६४ अर्ब रुपैयाँ (१.०८ मिलियन अमेरिकी डलर) अनुमानित लागतमा यो आयोजना बन्नेछ। प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सुरुवाती लागत प्रतिमेगावाट साढे १७ करोड रुपैयाँ अनुमान गरिएको थियो। निर्माणमा ढिलाइ हुँदा लागत निकै महँगो पर्न गएको हो। आयोजना १० वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन थाल्ने लक्ष्य छ।
पश्चिम सेती प्रसारण लाइन निर्माणका लागि कम्पनी दर्ता प्रक्रिया अगाडि
यस्तै, पश्चिम सेती ४०० केभी क्षमताको प्रसारण लाइन पनि सार्वजनिक-निजी साझेदारी (पीपीपी) अन्तर्गत निर्माण गर्न कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढेको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल) को बोर्डले यसको लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया अगाडि बढाइएको हो। आरपीजीसीएलका एक अधिकारीका अनुसार लगानीको मोडालिटी पास भइसकेको छ र सोहीअनुसार कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाइएको छ। उनले अब छिट्टै कम्पनी खडा गरेर बाँकी काम टुंग्याउने जानकारी दिए।
