NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमएस्सी गरेका विवेकले किन रोजे आत्मदाहको बाटो?

सर्लाहीका एमएस्सी गरेका विवेक मण्डलले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। विद्यालयको राजनीति, बेरोजगारी र ३५ लाख ऋणले थलिएका उनको उपचार काठमाडौंमा भइरहेको छ। परिवार उपचार खर्च जुटाउन संघर्षरत छ।
Kamala Devi
Kamala Devi
11 July 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
विवेक मण्डल आत्मदाह
Share:

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे। विज्ञानमा स्नातकोत्तर (एमएस्सी) गरेका मण्डलको शरीरको अधिकांश भाग जलेको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।

परिवारका अनुसार मण्डल करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा तीन वर्ष शिक्षक थिए। विद्यालयभित्रको राजनीतिक चलखेलले गर्दा जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ। सहकर्मीहरूले पनि उनी सक्षम शिक्षक भए पनि विद्यालयको राजनीतिले गर्दा जागिर गुमाउनुपरेको बताएका छन्।

शिक्षण पेसा छाडेपछि उनले लोक सेवा आयोगका परीक्षामा समेत सहभागी भए तर सफलता पाएनन्। लगातारको असफलताले मानसिक रूपमा कमजोर बन्दै गएको परिवारको भनाइ छ। श्रीमती रिनादेवी मण्डलका अनुसार उच्च शिक्षामा बाबुआमाले ठूलो लगानी गरे पनि परिवारको अपेक्षा पूरा गर्न नसकेको भन्दै विवेक चिन्तित हुने गर्थे। बेरोजगारी लम्बिँदै जाँदा उनी झन् निराश भएका थिए।

आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो समयसम्म रोजगारी नपाउँदा उनी मानसिक तनावमा थिए। केही समयअघि उनको उपचारसमेत गरिएको थियो। बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घर खर्चका लागि गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ।

एमएस्सीपछि शिक्षकको जागिरले आर्थिक अवस्था सुध्रिने आशा थियो। तर, त्यो रोजगारी टिक्न नसकेपछि परिवार फेरि संकटमा परेको हो। विवेकका श्रीमती, एक छोरा र एक छोरी छन्। अहिले उनको उपचारका लागि परिवार आर्थिक कठिनाइमा छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार