पश्चिम तराईका ६ जिल्लामा शनिबारदेखि सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्नेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लामा सूचीकृत गरिएको छ। अत्यधिक गर्मीले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पार्न सक्ने भन्दै प्राधिकरणले विपद् सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले जेठ ६ गतेदेखि तराईका भू–भागमा तापक्रम बढेको जनाएको थियो।
गर्मीले थकाइ, कमजोरी, तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांशपेसी दुख्ने र बान्ता हुनेजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन्। चर्को घाममा घरबाहिर ननिस्कन, निस्कनै परे छाता ओढ्न वा टाउको छोप्न प्राधिकरणले सुझाव दिएको छ।
खुकुलो, हल्का रङको कपडा लगाउन, प्रशस्त पानी पिउन, चिसो पानीले नुहाउन, सर्वत, कागती पानी र फलफूल खान तथा जीवनजल पिउन अनुरोध गरिएको छ। घरमै बनेको ताजा खानेकुरा खान र जङ्क फुड त्याग्न पनि आग्रह छ। खेतबारीमा काम बिहान वा साँझ मात्र गर्न र बालबालिकालाई चर्को घाममा खेल्न नदिन सूचनामा भनिएको छ।
