मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

योगेश भट्टराईको ओलीलाई प्रस्ताव: सम्मानजनक बिदा र ७ बुँदे प्रश्न

एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक बिदा लिन प्रस्ताव गरेका छन्। उनले पार्टीको संकटको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनुपर्ने भन्दै ७ बुँदे प्रश्न उठाएका छन्। भट्टराईले पदाधिकारीका लागि ७० वर्षको उमेरहद र दुई कार्यकालको प्रावधान पुनःस्थापित गर्न माग गरेका छन्।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
योगेश भट्टराईको प्रस्ताव
Share:
११२

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक बिदा लिएर नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्न प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कमिटी बैठकमा बोल्ने समय नपाएपछि भट्टराईले अध्यक्ष ओलीलाई लिखित दस्तावेज बुझाएका हुन्। उनले पार्टीमा नेतृत्व हस्तान्तरणलाई लोकतान्त्रिक संस्कार, पुस्तान्तरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्।

भट्टराईले निर्वाचन समीक्षा प्रतिवेदन, पार्टीभित्रका विभिन्न समीक्षा तथा आम कार्यकर्ता र जनताको भावनालाई आत्मसात् गर्दै ओलीले नयाँ नेतृत्वका लागि बाटो खोल्नुपर्नेमा जोड दिएका छन्। पार्टीको वर्तमान संकट संसद्मा घटेको संख्यामा मात्र सीमित नभई आन्दोलनप्रतिको प्रतिबद्धता, नेता–कार्यकर्ताबीचको भरोसा र भविष्यप्रतिको सामूहिक आशामा समेत उत्पन्न भएको उनको भनाइ छ। यसको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनुपर्ने उनको धारणा छ।

उनले संकटका वस्तुगत कारण पहिल्याउनुको सट्टा ‘षड्यन्त्रको सिद्धान्त’मार्फत आत्मरक्षा गर्ने र दोष अरूमाथि थोपर्ने प्रवृत्तिको आलोचना गरेका छन्। पार्टीले आफ्ना कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने उनको जोड छ। भट्टराईले पार्टीका पदाधिकारीका लागि अधिकतम दुई कार्यकाल र ७० वर्षको उमेरहदसम्बन्धी प्रावधान पुनःस्थापित गर्नुपर्ने माग गरेका छन्। यसअघि पार्टी विधानमा रहेका यी प्रावधान हटाउने निर्णयको विरोध गर्दै उनले नेतृत्व चयनमा निश्चित सीमा कायम गर्नुपर्ने धारणा राखेका हुन्।

पार्टीभित्र अधिकारको अत्यधिक केन्द्रीकरण अन्त्य गर्नुपर्ने माग गर्दै भट्टराईले जनताको बहुदलीय जनवादको लोकतान्त्रिक मान्यताअनुसार शक्ति, अधिकार र निर्णय प्रक्रियामा नियन्त्रण तथा सन्तुलन कायम गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन ओली नेतृत्वको सरकारको सुरक्षा व्यवस्थापन र समयमै पहल गर्ने विषयमा कमजोरी भएको दाबी गरेका छन्। त्यसक्रममा युवाहरूको ज्यान गुमाउनुपरेको भन्दै तत्कालीन सरकारको नेतृत्वकर्ताका रूपमा ओलीले जिम्मेवारी लिनुपर्ने, आत्मालोचना गर्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको धारणा छ।

यससँगै पार्टीभित्र नातावाद, गुटबन्दी र पहुँचका आधारमा अवसर तथा जिम्मेवारी बाँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भट्टराईले बताएका छन्। नेतृत्वसँग निकट भएकै आधारमा अवसर पाउने अवस्थाको अन्त्य गरी योग्यता, क्षमता र परिणामका आधारमा मूल्यांकन हुने प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव छ। भट्टराईको लिखित धारणामा नेतृत्व हस्तान्तरणसँगै पार्टीको नीति, संगठन र कार्यशैली पुनर्गठनको विषयलाई समेत जोड दिइएको छ। उनले स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व निर्माण गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार