वैदेशिक ऋणमा बनेका पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएनन्। यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजगढ विमानस्थल निर्माणमा सतर्कता अपनाउनुपर्ने बताएका छन्। निजगढलाई कुन मोडालिटीमा अगाडि बढाउने भन्ने टुंगो नलागेसम्म लगानी गर्न हतार नगर्ने उनको भनाइ छ।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले बोले। उनले काठमाडौं-तराई फास्ट ट्र्याकलगायत राष्ट्रिय महत्त्वका ठूला पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे। फास्ट ट्र्याकले तराई-मधेश-काठमाडौंको यात्रा छोट्याएर ठूलो रूपान्तरण ल्याउने उनले विश्वास व्यक्त गरे।
‘यसलाई अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर हेर्दा यो अर्को पुस्ताका लागि चमत्कारी आयोजना बन्न सक्छ,’ वाग्लेले भने, ‘लक्ष्य त्यतै छ, तर निजगढलाई कसरी अगाडि बढाउने भन्ने मोडालिटी तय गर्नुपर्छ। सरकारको राजस्वबाट जाने हो कि? वा दशकौं लिजमा दिने हो?’
ऋणमा बनेका पोखरा र भैरहवा (गौतमबुद्ध) विमानस्थल सञ्चालनमा आएनन्। यस्तो अवस्थामा निजगढमा खर्बौं लगानी गर्नुअघि गम्भीर चिन्तन आवश्यक रहेको उनले औंल्याए। ‘पोखरा र लुम्बिनी ऋण लिएर बनायौं। ऋणको भार थपियो तर सञ्चालनमा आउन सकेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा खर्बौं लगानी गरेर निजगढमा हात हाल्ने आँट यसअघिका सरकारहरूले पनि गरेका थिएनन्। हामी कुन मोडालिटीमा जाने भन्ने तय गरेर अगाडि बढ्छौं।’
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनर्संरचना नगरी यथास्थितिमा चलाउन नसकिने धारणा राखे। सरकारले आगामी जेठ १५ गते नयाँ बजेट प्रस्तुत गर्दैछ।
