गुल्मीका चार स्थानीय तहमा हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु भएको छ। रेसुङ्गा नगरपालिकामा ५१, गुल्मीदरबार गाउँपालिकामा ६, मुसिकोट नगरपालिकामा १३२ र कालीगण्डकी गाउँपालिकामा २१ जनाले यो सेवाबाट राहदानी प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालय गुल्मीका प्रमुख भुवन पाण्डेले यो अभियानले वैदेशिक रोजगारी वा अध्ययनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई सदरमुकाम धाउने झन्झटबाट मुक्ति दिएको बताए।
यसैगरी, जुम्ला जिल्ला प्रशासन कार्यालयले पनि हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ। जुम्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ थान राहदानी घरमै वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले वैशाख २४ गते ६१ थान, वैशाख २८ गते १९ थान र जेठ ५ गते २५ थान राहदानी हुलाकमार्फत वितरण गरिएको जानकारी दिए।
यो सेवा सरकारी सुधारसम्बन्धी १०० दिने कार्यसूची अन्तर्गत सुरु गरिएको हो। राहदानी बुझ्दा नागरिकता, राष्ट्रिय परिचयपत्र वा मतदाता नामावली जस्ता पहिचान खुल्ने आधिकारिक सरकारी कागजात साथमा राख्नुपर्नेछ। अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा एकाघरको नाता खुल्ने कागजात पनि आवश्यक पर्नेछ।
हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलका अनुसार हुलाकमार्फत बढीमा तीन दिनभित्र सुरक्षित रूपमा राहदानी सेवाग्राहीको घरसम्म पुर्याइने व्यवस्था मिलाइएको छ। यसले नागरिकलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्ेले ग्रामीण भेगका नागरिकलाई लक्षित गरी यो सेवालाई थप प्रभावकारी बनाइने र आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गरिने बताए। सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने यस अभियानले सर्वसाधारणलाई सहजता प्रदान गरेको छ।
