बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा सांसद अरबिन्द साहमाथि कुटपिटको आरोप लागेपछि महागढीमाई नगर सभापति बिक्रम यादवसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
पुराना कार्यकर्ताले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टिकट बिक्री भएको सूचनामा स्पष्टीकरण माग्दा विवाद सुरु भएको थियो। संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेजीले सांसद र पुराना पदाधिकारीबीच सम्बन्ध चिसिएको थियो।
महागढीमाई नगर सभापति बिक्रम यादवले सांसद अरबिन्द साहले आफूलाई गुण्डाहरू प्रयोग गरी कुटपिट गर्न लगाएको आरोप लगाएका छन्। बैठकमा सहभागी सांसदहरूले बाहिरबाट मानिसहरू ल्याएर पुराना कार्यकर्तालाई दबाउन खोजेको असन्तुष्ट पक्षको दाबी छ।
केन्द्रबाट पठाइएकी प्रतिनिधि कामनी चौधरीको उपस्थितिमा विवाद समाधानको प्रयास गरिए पनि स्थिति नियन्त्रणबाहिर पुगेको थियो। आक्रोशित कार्यकर्ताले बैठकस्थलमा पार्टी प्रतिनिधिसहित जिल्लाका चारैजना सांसदहरूमाथि हातपातको प्रयास गरेका थिए। सुरक्षाकर्मीले सांसद गणेश धिमाल, चन्दन सिंह, अरबिन्द साह, रहबर अन्सारी र केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेरामा राखेर बाहिर निकालेका थिए।
तर, सांसद गणेश धिमाल, चन्दन सिंह र अरबिन्द साहले कलैयाको बरेवा दरबार होटलमा पत्रकार सम्मेलन गरे। उनीहरूले सञ्चारमाध्यमका समाचारलाई अपवाह भन्दै घटनाको खण्डन गरे। उनीहरूले बैठक शान्तिपूर्ण रहेको र आफूहरूमाथि कुटपिट नभएको दाबी गरे। बाराका सांसद रहबर अन्सारीले जिल्ला कार्यसमिति विघटन भइसकेकाले स्वर्णकारका समर्थकले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाए।
