नेकपा एमालेको सचिवालय बैठकमा उपमहासचिव लेखराज भट्टले ६० वर्ष नाघेका सबै नेतालाई पदत्याग गर्न प्रस्ताव गरेका छन्। शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा उनले युवा नेतृत्वका लागि यो आवश्यक रहेको बताए।
एक नेताका अनुसार, भट्टले बैठकमा भने, ‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं। त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ।’
एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबारदेखि जारी छ। शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले धारणा राखे।
उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे। महासचिव पोखरेलले भने पार्टी अहिलेकै अवस्थामा अघि बढ्न नसक्ने घुमाउरो शैलीमा बताए।
उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले नेतृत्वको बचाउ गरे। उनीहरूले पार्टी संकटमा रहेको भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखे। बस्नेतले भने, ‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ। संरक्षण गर्नुपर्छ।’
शुक्रबारको बैठकमा पनि केही उपाध्यक्षहरूले धारणा राखेका थिए। अध्यक्ष ओलीको राजीनामा मागिएका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरे।
अध्यक्ष ओलीले पार्टीको लाइनविपरीत जाने छुट कसैलाई नभएको भन्दै नेताहरूलाई सचेत गराए। उनले अराजकता प्रदर्शन नगर्न चेतावनी दिए। ओलीले आफू गलेर नेतृत्व नछाड्ने अडान लिएको एक नेताले बताए।
