NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बजेटले उत्पादन, रोजगारीभन्दा परनिर्भरतालाई बढवा दियो : एमाले महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेटलाई 'सुनिने धेरै तर नदेखिने' को संज्ञा दिएका छन्। बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहन गर्नुको सट्टा परनिर्भरतालाई बढी प्राथमिकता दिएको उनको आरोप छ। शान्ति सुरक्षाका लागि जिम्मेवार गृहमन्त्रालयको बजेट कटौतीले लगानी र रोजगारी सिर्जनामा बाधा पुग्ने पोखरेलले औंल्याएका छन्।
Sunita Rai
Sunita Rai
30 May 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको आलोचना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नयाँ बजेटलाई ‘सुनिने धेरै तर नदेखिने’ को संज्ञा दिए।

पोखरेलले बजेट भाषणमा ‘विकास’ र ‘समृद्धि’का नारा धेरै सुनिए पनि प्राथमिकताका आधारमा वास्तविकता निराशाजनक रहेको दाबी गरे। सरकारले सस्तो लोकप्रियताका लागि नारा तय गरे पनि मुख्य विकास आयोजनालाई विगतको तुलनामा कम प्राथमिकता दिएको उनको आरोप छ।

‘जेनजी विद्रोह’ को जगमा बनेको सरकारले युवा वर्गलाई उपेक्षा गरेको पोखरेलको दाबी छ। उनले युवा तथा खेलकुद मन्त्रालयको बजेटसमेत कटौती गरेको भन्दै असन्तुष्टि जनाए।

विदेशिएकालाई स्वदेशमै रोजगारी फर्काउने वाचा गरेको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाएर प्रतिबद्धता विपरीत काम गरेको उनको तर्क छ। कृषि र वन मन्त्रालयको बजेट कटौतीले सरकारको प्राथमिकता आन्तरिक उत्पादन र आत्मनिर्भरता नभई रेमिटेन्समा आधारित परनिर्भर अर्थतन्त्रलाई बढावा दिनु रहेको सन्देश दिएको उनले बताए।

पोखरेलले भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाले मुलुकमा उत्पन्न असुरक्षा र भयलाई बजेटले सम्बोधन गर्न नसकेको बताए। यस्तो संवेदनशील समयमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने गृहमन्त्रालयको बजेट कटौती गरिएको भन्दै उनले आपत्ति जनाए। शान्ति सुरक्षाको बलियो आधारबिना लगानी प्रवर्द्धन नहुने र रोजगारी सिर्जना नहुने उनको भनाइ छ।

उनले करका दर र राजस्वको लक्ष्यबीच कुनै संगति नदेखिएको उल्लेख गर्दै बजेटले यथार्थता स्वीकार्न नसकेको टिप्पणी गरे।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार