कृष्णनगर भन्सार यार्ड साँघुरो हुँदा मालबाहक सवारी साधनको चाप धान्न नसकेर समस्या भएको छ। डेढ बिघा क्षेत्रफलमा रहेको यार्डले दैनिक सयदेखि डेढ सयको हाराहारीमा भन्सार छिर्ने भारतीय सवारी साधन र नेपालबाट निर्यात हुने सिमेन्ट, जडीबुटी, प्लाइउड जस्ता सामान बोकेका सवारी साधनको चाप थेग्न सकेको छैन।
यार्ड सानो हुँदा भारतीय सवारी साधनहरू घण्टौँसम्म भारततर्फ पालो कुर्न बाध्य छन्। यसले गर्दा व्यापारीहरूले भन्सार राजस्व संकलनमा समेत असर परेको गुनासो गरेका छन्। सवारी साधनको संख्या वर्षेनी बढ्दै गए पनि यार्डको क्षेत्रफल विस्तार नहुँदा व्यापारी र भन्सार कार्यालय दुवैलाई समस्या थपिएको छ।
व्यापारीहरूले पटकपटक यार्ड विस्तारको माग गरे पनि सुनुवाइ नभएको बताएका छन्। सन् २०१३ मा भन्सार स्थापना हुँदा बनेको यार्ड पुरानै अवस्थामा छ। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कुमार कर्णले यार्ड सानो हुँदा मालबाहक सवारी साधन राख्न गाह्रो भएको र यसले आयातकर्ता व्यापारीलाई पालो कुर्न बाध्य पारेको स्वीकार गरे।
उनले यस विषयमा भन्सार विभागलाई जानकारी गराइएको र यार्ड विस्तारका लागि व्यापारी तथा जनप्रतिनिधिहरूले पनि आवाज उठाउनुपर्ने बताए। कृष्णनगर भन्सारबाट वार्षिक ५ अर्बभन्दा बढी राजस्व संकलन हुने गरेको छ।
