NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अनलाइन भन्सार प्रणाली: तयारी नपुग्दा सेवाग्राही घण्टौं लाइनमा

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनका लागि लागू गरिएको अनलाइन भन्सार प्रणाली तयारी नपुग्दा समस्याग्रस्त भएको छ। सेवाग्राहीहरू भन्सार प्रक्रिया पूरा गर्न घण्टौं लाइनमा बस्न बाध्य छन्, कतिपयले बिचौलियालाई रकम बुझाउनु परेको छ। भन्सार कार्यालयले प्रारम्भिक चरणको समस्या भन्दै प्राविधिक सुधार र व्यवस्थापनको प्रतिबद्धता जनाएको छ।
Rohan Tamang
Rohan Tamang
1 June 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
Share:

महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनका लागि अनिवार्य गरिएको अनलाइन भन्सार प्रणालीले सेवाग्राहीलाई सास्ती दिएको छ। नयाँ प्रणाली लागू भए पनि पर्याप्त पूर्वतयारी, जनशक्ति र प्राविधिक व्यवस्थापन नहुँदा सेवाग्राहीहरू भन्सार प्रक्रिया पूरा गर्न ३ देखि ४ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्।

भारतको बिहारबाट आउने सवारी चालक तथा यात्रुहरूका अनुसार अनलाइन दर्ता प्रक्रिया जटिल छ। भन्सार कार्यालयबाट सहयोग नपाउँदा उनीहरू बिचौलियाको सहारा लिन बाध्य छन्। बिचौलियाले प्रतिगाडी २०० देखि ५०० रुपैयाँसम्म असुल्ने गरेको सेवाग्राहीहरूको आरोप छ।

भारतको सीतामढीका राम उदित राउत भन्छन्, ‘अनलाइन प्रणालीबारे जानकारी छैन। भन्सारमा सहयोग छैन। समयमै फर्किनुपर्ने बाध्यताले बिचौलियालाई पैसा तिर्नुपर्छ।’

स्थानीय व्यवसायी तथा यात्रुहरूले डिजिटल प्रणाली सकारात्मक भए पनि पूर्वाधार, सूचना प्रवाह र प्राविधिक सहायता बिना कार्यान्वयन गरिएकाले सर्वसाधारणले दुःख पाएको बताए। उनीहरूले भन्सार कार्यालयमा थप कम्प्युटर, प्राविधिक कर्मचारी र सहायता कक्षको माग गरेका छन्।

भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरण भएकाले केही प्राविधिक समस्या देखिएको स्वीकार गरे। उनले प्रणाली भर्खरै सुरु भएकाले समस्या आएको र क्रमशः व्यवस्थापन सुधार गरिने बताए।

सीमावर्ती क्षेत्रमा दैनिक सयौं भारतीय सवारीसाधन नेपाल प्रवेश गर्छन्। अनलाइन भन्सार प्रणालीलाई सहज, छिटो र प्रभावकारी बनाउन तत्काल व्यवस्थापन गर्नुपर्ने आवाज उठेको छ। सेवाग्राहीहरूले प्रणाली सुधारसँगै सहायता सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार