कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको आधार बन्नसक्ने बताएकी छन्। ‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित ‘विश्व दूध दिवस २०८३’ को अवसरमा उनले यो दिवस पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा र समृद्धिका लागि दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको बताइन्।
उनले दूधमा आधारित व्यवसाय अधिकांश कृषक परिवारको आयआर्जनको प्रमुख आधार रहेको उल्लेख गरिन्। ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुन्छ। यसबाट दैनिक करिब साढे सात करोड रुपैयाँ नगद प्रवाह भइरहेको छ। यसले साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्याएको छ।
मन्त्री चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फर्स्यौट गर्न निर्देशन दिइन्। उनले किसानलाई नियमित भुक्तानी गरी सरकारको अभियानमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरिन्।
सरकारले व्यवसायीहरूलाई सहजीकरण र निर्देशन दिइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले राज्यलाई कडा कदम चाल्न बाध्य नपार्न सचेत गराइन्। निजी क्षेत्रले जति सहजीकरण गर्छ, सरकारले पनि व्यवसायीका समस्या समाधानमा उति सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरिन्। मन्त्रालयले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत पहल र कार्यक्रम अगाडि बढाइरहेको छ। यस क्षेत्रको सुधारका लागि सरकार दृढ छ।
