आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले १४ जना पीडितबाट करिब ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा कृष्णकुमार खड्का, भागिरथी (पराजुली) गौतम, प्रवेश पराजुली, प्रज्वल आचार्य र निशा सिवा छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
अभियुक्त कृष्णकुमार खड्का र भागिरथी गौतमले क्रोएशिया र ग्रीसजस्ता देश पठाइदिने भन्दै १४ जना पीडितबाट ५८ लाख ६८ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
प्रवेश पराजुलीले सर्बिया पठाइदिने प्रलोभनमा चार जनाबाट १८ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। प्रज्वल आचार्यले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। निशा सिवाले कोरिया पठाइदिने आश्वासन दिएर एक जनाबाट १ लाख ५ हजार रुपैयाँ लिएको पाइएको छ।
पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ठगीको रकम करिब ८० लाखभन्दा बढी देखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
