वीरेन्द्रनगरका कपडा व्यापारी श्यामसुन्दर अग्रवाल (बालाजी) बाट झण्डै ३ करोड रुपैयाँ बराबरको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार उनको गोप्य कार्यालयमा छापा मार्दा १८५ थान सुन तथा चाँदीका गहना फेला पारेको हो।
प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार बरामद गरिएका गहनाको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ छ। अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। नगद गन्ती गर्ने मेसिनसमेत प्रहरीले बरामद गरेको छ।
सोमबार अपराह्न ४ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६, तल्लो बजारस्थित शिव ईम्पोरियम कपडा पसलमा अवैध रूपमा ब्याजमा नगद दिने गरेको सूचना पाएपछि प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले खानतलासी गरेको थियो। अग्रवालको यसअघि बालाजी बस्त्रालय थियो, अहिले शिव ईम्पोरियम बनेको छ।
नियन्त्रणमा लिइएका अग्रवाल बाँकेको नेपालगन्ज घर भई हाल वीरेन्द्रनगर–६ बस्ने भारतीय मूलका व्यापारी हुन्। सुरुमा उनका बुबाले नेपालमा कपडा व्यवसाय थालेका थिए। २०६२/०६३ को जनआन्दोलन र माओवादी द्वन्द्वको सङ्क्रमणकालीन समयमा माओवादीहरूसँग मिलेर नेपाली नागरिकता लिएको चर्चा छ।
प्रहरी स्रोतका अनुसार, उनले ७० को दशकपछि कपडा पसलको आडमा सुन धितो राखी अवैध रूपमा पैसा बाँड्ने र भारतीय रुपैयाँको व्यापार सञ्जाल चलाउँदै आएका थिए।
नजिकबाट चिन्ने एक व्यक्तिले उनी यो अवैध धन्दा खुल्लमखुल्ला चलाउने गरेको बताए। ‘उनले यो अवैध धन्दाको सुरुवात दसैँ तिहारजस्ता चाडपर्वका बेला भारतबाट आउने नेपालीहरूको भारु साटेर सुरु गरेका थिए,’ स्रोतले भन्यो, ‘भारु साटेबापत ३–५ प्रतिशतसम्म कमिसन लिने गरेका थिए।’
पछि उनले गाउँका सोझासाझा नागरिकदेखि व्यापारीहरूलाई लक्षित गरी सुन धितोमा राखी ३ देखि ५ प्रतिशतसम्म मासिक ब्याज असुल्न थाले। बैंकको झन्झटिलो प्रक्रिया र सीमित ऋण प्रवाहका कारण छिटो पैसा चाहिनेहरूका लागि उनी ‘अघोषित बैंक’ जस्तै बनेका थिए।
यदि यो घटनाको निष्पक्ष अनुसन्धान भएमा वीरेन्द्रनगरका अन्य ५–७ जना ठुला व्यापारी पनि मुछिने सम्भावना रहेको स्रोतको दाबी छ। उनीहरूले आफ्नो कालो धन लुकाउन र ब्याज कमाउन अग्रवालमार्फत पैसा परिचालन गर्ने गरेको आशंका गरिएको छ।
