कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना बालहेल्पलाइन सेवामा दर्ता भएका छन्। टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म यी सूचनाहरू दर्ता भएका हुन्।
बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार जिल्लाबाट मात्रै सूचना दर्ता भएको छ। मोरङमा २४, सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एक सूचना दर्ता भएको उनले जानकारी दिए।
हेल्पलाइन १०९८ वा प्रहरी हेल्पलाइन १०४ मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनःस्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३ बालविवाहका घटना भएको तथ्याङ्क छ। टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबले बालविवाह न्यूनीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको संरक्षणकर्मी अधिकारीले बताए।
