नापी विभागले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र सहज बनाउन ‘मेरोकित्ता’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एपको उद्घाटन गरिन्।
अब नागरिकले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार र फिल्ड रेखाङ्कन जस्ता सेवा लिन सक्नेछन्। यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। प्ले स्टोर वा एप स्टोरबाट यसलाई सजिलै डाउनलोड गर्न सकिनेछ।
सेवाग्राहीले अनलाइन आवेदन दिएपछि प्रणालीबाट ‘ओटीपी’ प्रयोग गरी निवेदनको अवस्था हेर्न सक्नेछन्। राजस्व भुक्तानीका लागि ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता डिजिटल वालेट एपमा एकीकृत छन्। फिल्ड रेखाङ्कनको दस्तुरसमेत अनलाइनबाटै तिर्न सकिनेछ।
मन्त्री रावलले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले भनिन्, ‘सेवाग्राहीले कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुँदैछ। यो एपले सेवा प्रवाहलाई सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउनेछ।’
डिजिटल सुशासन सुदृढ गर्न प्रविधिमैत्री सेवा विस्तार गरिने प्रतिबद्धता मन्त्री रावलले व्यक्त गरिन्। ‘मेरोकित्ता’ एपमा नापी कार्यालयका प्रमुख र सूचना अधिकारीको सम्पर्क नम्बरसमेत उपलब्ध हुनेछ।
यो सेवा मोबाइल एपका साथै वेब संस्करणमा पनि उपलब्ध छ। यसले मालपोत र नापी कार्यालयमा हुने भिडभाड कम गर्नेछ। बिचौलियाको प्रभावसमेत न्यूनीकरण हुने विभागको विश्वास छ।
