कीर्तिपुर होल्डिङ सेन्टरमा उपचाररत ३८ वर्षीय भेषराज दर्जीको मृत्यु भएपछि जेनजी अभियन्ता रक्षा बमले सरकारको अकर्मण्यता र लापरबाहीले नागरिकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेकी छन्।
सामाजिक सञ्जालमा उनले सरकारको रबैयाका कारण कति जना सुकुम्बासीको मृत्यु भएपछि यसलाई सामान्य मान्नुपर्ने हो भन्दै प्रश्न गरिन्।
उनले लोकतान्त्रिक व्यवस्थामा सरकार नागरिकको अभिभावक हुनुपर्नेमा राज्यको कमजोरीले नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताइन्।
‘सरकार अभिभावक र प्रत्येक नागरिक परिवारका सदस्य हुन्। आफ्नो जिद्दी र हठका कारण कुनै परिवारको सदस्य गुम्नु आत्मग्लानिको विषय हो,’ उनले लेखेकी छन्।
प्रश्न उठाउने परम्परालाई विकास विरोधी ठान्ने र यस्ता घटनामा मौन बस्नेहरू नै गरिब नागरिकले ज्यान गुमाउने अवस्थाका कारक भएको उनको भनाइ छ।
भेषराज दर्जी गत १८ गतेदेखि वीर अस्पतालमा उपचाररत थिए। अस्पतालका अनुसार बिहीबार दिउँसो उनको मृत्यु भएको हो।
