धनकुटाको भेडेटारबाट महोत्तरी ल्याइएको करिब ४८६ किलो गाँजा बरामद प्रकरणमा प्रहरीले मुख्य भूमिका देखाएका सुरेश चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको छ।
गत असार २० गते बिहान एकडारा गाउँपालिका–१ भटौलियामा ना.३ ख ६५९२ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्दा ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो। यसको भोलिपल्ट असार २१ गते महोत्तरी गाउँपालिका–४ स्थित रानी रतवडामा लिलम देवीको घरमा छापा मार्दा थप ४४६ किलो गाँजा फेला परेको थियो।
यसरी ट्रक र घरबाट गरी कुल ४८६ किलो ३६० ग्राम गाँजा बरामद भएपछि प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–६ का चालक साधुराम थिङ र सोही ठाउँका सहचालक विपश नेगीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा महोत्तरीको एकडारा गाउँपालिका–५ का सुरेश चौधरीको मुख्य भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ पुर्जीसमेत लिएको थियो।
प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार, चौधरी र प्रतिवादी रन्धीर ठाकुरबीच गाँजा तस्करी भएको समयमा १३ पटक फोन सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) बाट देखिएको थियो। घटनाका बेला चौधरीको मोबाइल लोकेसन धनुषाको जिरोमाइल, महोत्तरीको रातौली–गोहीपिपरा र रतवडा–बलवा क्षेत्रमा देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले तत्काल मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै चौधरीलाई प्रतिवादी नबनाएको बताए। उनले थप प्रमाण फेला परेमा चौधरीविरुद्ध पछि छुट्टै अभियोग लैजान सकिने कानुनी बाटो खुला रहेको पनि उल्लेख गरे।
सरकारी वकिल कार्यालयले साधुराम थिङ, विपश नेगी, महोत्तरी गाउँपालिका–३ का रन्धीर ठाकुर र घरधनी लिलम देवीलाई मात्र प्रतिवादी कायम गरी असोज १६ गते जिल्ला अदालत महोत्तरीमा अभियोगपत्र दायर गरेको छ। रन्धीर ठाकुर यसअघि पनि आपराधिक मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् भने चालक थिङविरुद्ध असारमै अर्को लागुऔषध मुद्दा दायर भएको थियो।
मधेस प्रदेश: गाँजा तस्करीको मुख्य मार्ग र बढ्दो चुनौती
महोत्तरी जिल्ला भारतसँगको खुला सिमानाका कारण गाँजा तस्करीको मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ। मकवानपुर, पर्सा लगायतका पहाडी जिल्लाबाट ल्याइने गाँजा महोत्तरी हुँदै भारतीय बजारमा पुर्याइने गरेको छ।
मधेश प्रदेशमा पछिल्लो दुई आर्थिक वर्षमा २० हजार ९३२ किलो ५५६ ग्राम (करिब २०.९३ टन) भन्दा बढी गाँजा बरामद भएको छ। खुला सीमा, ग्रामीण सडक र सीमावर्ती क्षेत्रमा हुने अनियन्त्रित आवतजावतका कारण गाँजा नियन्त्रणमा कठिनाइ बढ्दै गएको छ।
जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीका अनुसार, सुरेश चौधरीविरुद्ध थप प्रमाण फेला परेमा पछि छुट्टै अभियोगपत्र दायर गर्न सकिनेछ। यसैबीच, अन्य चार प्रतिवादीविरुद्धको मुद्दा जिल्ला अदालत महोत्तरीमा अगाडि बढ्नेछ।
