मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मन्त्रीविनाको संसद बैठक: सांसद राईको मौन विद्रोहले अवरुद्ध

विनियोजन विधेयकमाथिको छलफलमा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर सांसद राजेन्द्रकुमार राईले रोस्टममै मौन बसेर विरोध जनाएका छन्। सांसद राईले ९ वटा मन्त्रालयको बजेट छलफलका लागि सम्बन्धित सबै ९ जना मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका थिए। सांसदको अडानपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
मन्त्री अनुपस्थित संसद
Share:
२०१

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले रोस्टममा उभिएर मौन विरोध जनाएका छन्। यसले बैठक अवरुद्ध भएको छ।

सोमबारको बैठकमा ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलका लागि रोस्टममा पुगेका सांसद राईले ९ जना मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका थिए। सदनमा जम्मा दुई जना मन्त्री उपस्थित रहेको देखेपछि उनले बाँकी ७ जना नआएसम्म आफ्ना कुरा नराख्ने अडान लिएका हुन्।

“पुराना दलले विधि मानेनन् भनेर जनताले नयाँ खोजेका हुन्, विधिको कुरा गर्ने हो भने ९ जना मन्त्री हुनुपर्छ, अनि मात्र म कुरा राख्छु,” सांसद राईले प्रश्न गरे, “विधिपूर्वक डाक्नुहुन्न भने मैले कसरी कुरा राख्ने ? जुन विषयमा बोलेर जसलाई सुनाउन खोजेको हो, उहाँहरू नै नभएपछि बोल्नु र नबोल्नुको अर्थ रहँदैन।”

सांसद राई रोस्टममा उभिएर मौन बसेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई पटक–पटक आफ्ना कुरा राख्न आग्रह गरेका थिए। सभामुख अर्यालले सांसदको ध्यानाकर्षण भएको र उभिराख्दा शारीरिक रूपमा समेत अप्ठ्यारो हुने भन्दै विषयवस्तुमा प्रवेश गर्न सुझाएका थिए।

तर, राईले थिति बिगार्न नहुने तर्क गर्दै मन्त्री नआएसम्म सम्बोधन नगर्ने अडान कायम राखे।

सदनमा सोमबार युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि छलफलको कार्यसूची थियो।

सांसद राईले मन्त्रीबिना बोल्ने अडान लिएर रोस्टममै बसिरहेपछि सदनको नियमित कारबाही प्रभावित भएको थियो। संसद्मा गतिरोध उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको घोषणा गरेका थिए।

यसअघि पनि बजेट छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर सांसदहरूले पटक–पटक नियमापत्ति गर्दै आएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार