NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमतीका निलम्बित मेयर थापासहित ८ विरुद्ध ५६ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ असार १५ मा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ गतेका लागि सरेको छ। अख्तियारले मेयर थापासहित उपमेयर र पूर्वमन्त्रीविरुद्ध ५६ करोड ७१ लाख बिगो माग दाबी गरेको छ। माछापोखरी निर्माणका नाममा वन क्षेत्र अतिक्रमण गरी रकम हिनामिना गरेको अभियोग छ।
Arjun Basnet
Arjun Basnet
15 June 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा सुनुवाइ
Share:

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको ५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दामा सुनुवाइ असार १५ गतेका लागि सरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि सरेको हो।

यो मुद्दामा यसअघि ४ पटक साक्षी बुझ्ने आदेश भइसकेको छ। २०८२ जेठ ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो।

विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तानलाई विपक्षी बनाइएको छ। थापासहितले माछापोखरी निर्माणका नाममा वन क्षेत्र अतिक्रमण गरी कसुर गरेको अभियोग छ।

आयोगका अनुसार बागमतीको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरिएको थियो। ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट रकम हिनामिना भएको अभियोग छ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको थियो। तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार