युद्धको घाउ बोकेर इरान फिफा विश्वकप खेल्न अमेरिका पुगेको छ। अमेरिकासँग शान्ति सम्झौता भएको केही घन्टामै द्वन्द्वमा पिल्सिएको टोली कट्टर प्रतिद्वन्द्वीको भूमिमा उत्रिएको हो।
अमेरिका र इजरायलसँगको युद्धले विश्वकप खेल्ने इरानको सम्भावना केही दिनअघिसम्म अनिश्चित थियो। इरानी फुटबल टोलीले अमेरिका प्रवेश अनुमतिमा पनि दुःख पायो। यद्यपि, टोली विश्वकपको पहिलो खेलभन्दा दुई दिनअघि मात्र अमेरिका आइपुग्यो।
समूह ‘जी’ को पहिलो खेलमा इरानले न्युजिल्यान्डको सामना गर्नेछ। यो खेल नेपाली समयअनुसार मंगलबार बिहान ६:४५ बजे लस एन्जलसको सोफी स्टेडियममा सुरु हुनेछ। समूहबाट दोस्रो चरणमा पुग्न इरानलाई कठिन छ। मानसिक तनावबीच बेल्जियम र इजिप्टजस्ता बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
युरोपेली लिगमा बेल्जियन खेलाडीको वर्चस्व छ। बेल्जियमलाई यसपल्ट दाबेदार मानिएको छ। सहभागिताबारे अन्योलले इरानको तयारी प्रभावित भयो। युद्ध, राजनीतिक तनाव र भिसा समस्याले टोलीको तयारी अवधिभर असर गर्यो।
तर, एसियाली राष्ट्र इरानले विश्वकपमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको छ। मुख्य प्रशिक्षक अमिर घालेनोईले फुटबलमार्फत खुसी र एकताको सन्देश दिने बताए। ‘महान्, गौरवशाली र शक्तिशाली इरानी राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गर्व छ। फुटबलले विभिन्न संस्कृति र देशलाई नजिक ल्याओस्,’ उनले पत्रकार सम्मेलनमा भने।
एसियाली छनोटमा इरानले उत्कृष्ट प्रदर्शन गरेको थियो। १० खेलमा एक मात्र हार बेहोरेको थियो। फिफा वरीयतामा इरान २०औं र न्युजिल्यान्ड ८५औं स्थानमा छन्। वरीयताले इरानलाई बलियो देखाउँछ।
विश्वकप मञ्चमा बिनादबाब खेल्ने टोलीले नतिजा ल्याउन सक्छ। इरानमाथि स्वाभाविक दबाब रहने आकलन छ। कप्तान मेहदी तारेमी इरानका प्रमुख हतियार हुन्। न्युजिल्यान्ड क्रिस वुडमा निर्भर छ। तारेमीले युद्धले विश्वकपको उत्साहमा असर पारेको बताए। ‘विश्वकपमा आउने क्षणदेखि नै तनाव महसुस गरिरहेको छु। शान्ति र खुसीको वातावरण अनुभूति फरक छ,’ उनले भने।
युद्धका कारण इरानले प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिको सार्नुपरेको थियो। केही सदस्यले अमेरिकी भिसा पाएनन्। यसले तयारीमा प्रत्यक्ष असर गर्यो। न्युजिल्यान्डले छनोटमा १९ गोल गरेको थियो। अभ्यास खेलमा इङ्ल्यान्डसँग १–० ले हार्यो। वरीयतामा तल रहे पनि न्युजिल्यान्डले कडा चुनौती दिनेछ।
इरान र न्युजिल्यान्डबीच दुई पटक भेट भएको छ। २००३ को मैत्रीपूर्ण खेल १–१ को बराबरी भएको थियो। पछिल्लो भेटमा इरान ३–० ले विजयी भयो। इरान लगातार आठौं पटक विश्वकप खेल्दै छ। न्युजिल्यान्ड १६ वर्षपछि फर्किएको हो। ‘अल ह्वाइट्स’ले पछिल्ला तीन संस्करण छनोट भएन। २०१० को विश्वकपमा न्युजिल्यान्ड अपराजित टोली थियो।
प्रशिक्षक डारेन बेजलीको टोलीले ११ खेलमा दुई जित र नौ हार बेहोरेको छ। हाइटीसँग ४–० र इङ्ल्यान्डसँग १–० को हार समावेश छ। गोल गर्ने क्षमताको अभाव न्युजिल्यान्डको मुख्य कमजोरी हो। नौ हारमध्ये छ खेलमा टोली गोल गर्न असफल रह्यो।
इरान एसियाको सफल टोलीमध्ये एक हो। सन् १९७८ देखि २०२६ सम्म आठौं पटक विश्वकप खेल्दै छ। ३३ वर्षीय कप्तान तारेमीले इरानका लागि सयभन्दा बढी खेलमा ६० गोल गरेका छन्। सामन घोडोस, सइद इजातोलाही, शोजा खलिलजादेह र मोहम्मद मोहबीजस्ता अनुभवी खेलाडी टोलीमा छन्। अनुभव, सन्तुलित संरचना र संगठित खेल शैली इरानका बल हुन्।
बलिया प्रतिद्वन्द्वी रहेको समूहमा दुवै टोलीका लागि पहिलो खेल ‘गर या मर’ सरह हुनेछ। मैदानबाहिर इरानको सहभागिता विवाद र राजनीतिक बहसको केन्द्रमा छ। लस एन्जलसमा बस्ने इरानी समुदाय विभाजित छ। एक समूह टोलीलाई समर्थन गर्न स्टेडियम जाँदैछ। अर्को समूह सरकारविरुद्ध प्रदर्शन गर्ने योजनामा छ। ‘तेहरान्जेलस’ क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरिएको छ। ती समुदायले १९७९ को क्रान्तिअघिको झन्डा प्रयोग गर्ने बताएका छन्। कप्तान तारेमीले टोली राजनीतिभन्दा माथि रहेको बताए। ‘हामी विश्वभरका सबै इरानीका लागि खेलिरहेका छौं। हाम्रो उद्देश्य फुटबलमार्फत सबै इरानीलाई खुसी दिनु हो। हामी राजनीतिमा संलग्न छैनौं,’ उनले भने। उद्घाटन समारोहमा इरानको झन्डा ल्याउँदा केही दर्शकले हुटिङ गरेका थिए। यसले टोलीमाथि दबाब बढ्न सक्छ।
