तोकिएको समयभित्र नवीकरण नगरेका पाँच हजार तीन सय दुई (५,३०२) औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र औषधि व्यवस्था विभागले स्वतः खारेज गरेको छ। विभागले मङ्गलबार एक सूचना जारी गर्दै जेठ २८ गतेसम्म म्याद समाप्त भई नवीकरण नभएका पसलहरूको सूची सार्वजनिक गरेको हो।
औषधि ऐन, २०३५ को दफा ११ को संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा (५) बमोजिम यो कारबाही गरिएको हो। नवीकरण नभएका पसलहरूले अब कानुनी रूपमा औषधि व्यवसाय सञ्चालन गर्न पाउने छैनन्।
विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। साथै, औषधि बिक्री वितरण गर्दा प्रचलित कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्नसमेत कडा निर्देशन दिएको छ।
