मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

महोत्तरीमा रिङ्कु सिंह मृत्यु प्रकरण: पतिसहित तीन पक्राउ

महोत्तरीको बर्दिबासमा रिङ्कु कुमारी सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले पति, ससुरा र सासूलाई पक्राउ गरेको छ। मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान थालेको छ। माइती पक्षले हत्याको आरोप लगाउँदै घरमा तोडफोड र गाडीमा आगजनी गरेको थियो।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
रिङ्कु सिंह मृत्यु प्रकरण
Share:
२१९

महोत्तरीको बर्दिबास–१२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले दिएको जानकारी अनुसार पक्राउ परेका तीनै जनालाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

मृतक रिङ्कुका बुबा शत्रुधन महतोले छोरीको मृत्युमा संलग्न रहेको आरोपमा पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले जाहेरी परेकामध्ये घटना घटेकै दिनदेखि फरार रहेका तीन जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नन्द र नन्दका पति अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी छ।

गत शुक्रबार (जेठ २९ गते) राति ८ बजे २५ वर्षीया रिङ्कु आफ्नै दुईतले पक्की घरको कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। माइती पक्षले भने उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए।

शत्रुधन महतोले छोरीका पति शशिले दोस्रो विवाह गरेपछि घरमा विवाद सुरु भएको आरोप लगाएका छन्। त्यसपछि पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको उनको भनाइ छ। उनले छोरीलाई लामो समयदेखि पटक पटक कुटपिट, गालीगलौज, शारीरिक यातना र घर निकालाको धम्की दिँदै आएको बताए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार