NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोहलपुर हिरासतमा थुनुवा मृत्यु प्रकरण: डीएसपी खनालसहित ४ सुरक्षाकर्मीमाथि कारबाही सुरु

बाँकेको कोहलपुर हिरासतमा थुनुवा वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा डीएसपी लक्ष्मी खनालसहित ४ सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया सुरु भएको छ। एसएसपी सन्तोष सिंह राठौर नेतृत्वको छानबिन समितिले सुरक्षाकर्मीको कमजोरी औंल्याउँदै प्रतिवेदन बुझाएको थियो। मृतकका परिवारले प्रहरी यातनाबाट मृत्यु भएको आरोप लगाएका थिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
16 June 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
कोहलपुर हिरासत मृत्यु प्रकरण
Share:

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा थुनुवाको मृत्यु प्रकरणमा सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया सुरु भएको छ। ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका वीरेन्द्रबहादुर सिंहको मृत्युमा सुरक्षाकर्मीहरूको कमजोरी देखिएको छानबिन समितिको निष्कर्ष छ।

एसएसपी सन्तोष सिंह राठौर नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ। प्रदेश प्रहरी कार्यालयले कारबाही गरी जानकारी गराउन निर्देशन दिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए।

समितिले तत्कालीन इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत डीएसपी लक्ष्मी खनाल, फिल्ड अधिकृत, ड्युटी अधिकृत र हिरासत सुरक्षा गार्ड कमाण्डरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार, जेनजी आन्दोलन लगायतका कारणले छानबिनमा ढिलाइ भए पनि इन्चार्जसहितका प्रहरी जिम्मेवार देखिएका छन्।

कालिकोट घर भएका ३८ वर्षीय सिंहको पक्राउ परेको तीन दिनमै हिरासतमा स्वास्थ्य समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

मृतक सिंहका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै छानबिनको माग गरेका थिए। जेनजी आन्दोलनपछि एसएसपी राठौरको नेतृत्वमा समिति गठन गरिएको थियो। राठौर हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भइसकेका छन्।

समितिले हिरासत व्यवस्थापनमा खटिएका अधिकृतले मृतक सिंहलाई पछाडिबाट हतकडी लगाएको भेटेको निष्कर्ष निकालेको थियो। छानबिन समितिका एक सदस्यका अनुसार, तत्कालीन डीएसपी खनालले हिरासत सुधारमा ध्यान नदिएको पाइएको छ।

घटनापछि डीएसपी खनालको सरुवा भएको थियो। उनी हाल अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत छिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार