अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पजाकियानले ११० दिन लामो युद्ध अन्त्य गर्न अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार बिहीबार बिहान ५:१५ बजे दुई नेताले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
आइआरएनएले हस्ताक्षरका तस्बिरहरू जारी गरेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि भर्साइल्स दरबारमा भएको हस्ताक्षरको भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन्।
यो सम्झौताले इरानमा युद्ध अन्त्य गर्ने, लेबनानमा द्वन्द्व अन्त्य गर्ने, होर्मुजको जलडमरूमध्य पुनः खोल्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने लक्ष्य राखेको छ।
शान्ति सम्झौतामा जुन १९ मा जेनेभा नजिकै लुसर्नमा हस्ताक्षर हुने भनिएको थियो। तर, एक दिन अगाडि नै फ्रान्सको ऐतिहासिक भर्साइल्स दरबारमा हस्ताक्षर गरिएको छ। इरानी अधिकारीहरूले जेनेभामा औपचारिक हस्ताक्षर समारोह र थप वार्ताको कार्यक्रम कायम रहेको बताएका थिए।
इस्लामाबाद समझदारीपत्र नाम दिइएको उक्त दस्तावेजले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यको आह्वान गरेको छ। सम्झौताअनुसार अमेरिकाले ३० दिनभित्र इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएको छ। यस अवधिमा समुद्री जहाजहरूको आवागमन युद्धअघिकै स्तरमा पुनःस्थापित गरिने अपेक्षा गरिएको छ।
यस समझदारीपत्रमा अन्तिम सम्झौता सम्पन्न भएको ३० दिनभित्र अमेरिकाले इरानको आसपासबाट आफ्ना सैन्य बल फिर्ता गर्ने उल्लेख छ। इरानले ६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रयास गर्नेछ।
