कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। बुधबार एक वक्तव्य जारी गर्दै उनले आजकै मितिदेखि सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानकारी दिएका हुन्।
आफ्नो ७०औं जन्मदिनको अवसरमा जारी विज्ञप्तिमा महराले विगत ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी रहेको उल्लेख गरेका छन्। उनले नेकपा चौथो महाधिवेशन, मशाल, एकता केन्द्र, माओवादी, एकीकृत नेकपा (माओवादी), माओवादी केन्द्र हुँदै हाल नेपाल कम्युनिष्ट पार्टीसम्मको यात्रामा आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको बताएका छन्।
वक्तव्यमा महराले केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेको उल्लेख गरेका छन्। नसाहरू र मांसपेशी क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन नसकेको उनको भनाइ छ। यसका कारण पार्टीका गतिविधि र जिम्मेवारीमा विगतजस्तो सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन बन्दै गएको उनले स्पष्ट पारेका छन्।
महराले आफ्नो यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको बताएका छन्। उनले शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने विश्वास व्यक्त गरेका छन्।
उनले नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन्। लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
