पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित अभियोगपत्र पेश गरेको हो।
अभियोगपत्रअनुसार पौडेलले व्यवसायी दीपक भट्टसँग मिलेर पद र प्रभावको दुरुपयोग गरेका छन्। पौडेलले सहजीकरण गरिदिएबापत आर्थिक लाभ लिने नियतले श्रीराम टोबाको उद्योग प्रालिको उच्च मूल्यको सेयर न्यून मूल्यमा भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई दिलाएको आरोप छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यो मुद्दा विशेष अदालतमा पुर्याएको हो। पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए। सोमबार उनको पाँचौंपटक म्याद थप गरिएको थियो।
