यस वर्ष मनसुन अनुकूल बनेसँगै देशभर धान रोपाइँले गति लिएको छ। कृषि विभागका अनुसार साउन ७ गतेसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो सामान्य सुधार हो।
देशभर धान खेतीयोग्य १३ लाख ७३ हजार ८६२ हेक्टर जमिनमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकले देखाएको छ।
यस वर्ष सबैभन्दा उल्लेखनीय सुधार मधेश प्रदेशमा देखिएको छ। देशको प्रमुख अन्न उत्पादन क्षेत्र मानिने मधेशमा हालसम्म ७८.६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। गत वर्ष सोही अवधिमा मधेशमा केवल ५१.८२ प्रतिशत मात्रै रोपाइँ भएको थियो। एक वर्षमै करिब २७ प्रतिशत बिन्दुले वृद्धि हुनु मनसुनको अनुकूलता र किसानको सक्रियतासँग जोडिएको मानिएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि देखिएको छ। त्यहाँ धान खेतीयोग्य १ लाख ६२ हजार २५० हेक्टरमध्ये ९०.६७ प्रतिशत अर्थात् १ लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सकिएको छ।
लुम्बिनीमा ८०.६५ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यता, कोशी प्रदेश भने अन्य प्रदेशको तुलनामा पछाडि देखिएको छ। २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ७३.९४ प्रतिशत अर्थात् २ लाख ४ हजार ३४७ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
कृषि विभागका अनुसार गत वर्ष ११ साउनसम्म देशभर ७८.८४ प्रतिशत क्षेत्रमा धान रोपिएको थियो। यस वर्ष त्यसको तुलनामा रोपाइँको अवस्था केही सुधारिएको देखिएको छ। कृषि क्षेत्रका जानकारहरूका अनुसार आगामी केही दिन मौसम अनुकूल रहे बाँकी क्षेत्रमा पनि रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।
