NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर राजमार्ग अवरुद्ध: बाढीपहिरो र कटानले यातायात ठप्प

देशभरका प्रमुख राजमार्गहरू बाढीपहिरो र कटानका कारण अवरुद्ध भएका छन्। यात्रुहरूको सुरक्षाका लागि बिपी राजमार्ग, कान्ति लोकपथ लगायतका सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। मेची राजमार्ग, अरनिको राजमार्ग, लामासाँघु–रामेछाप राजमार्ग, पासाङ ल्हामु सडकखण्ड र जोमसोम–कोरला सडकमा पनि यातायात ठप्प भएको छ।
Sanjay Karki
Sanjay Karki
26 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:

देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू वर्षापछिको बाढीपहिरो र नदी कटानका कारण अवरुद्ध भएका छन्। यसबाट देशभरको यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा प्रतिबन्ध जारी छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामको अवधिभर अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।

त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

हाल अवरुद्ध सडकहरू सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार