मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषध कारोबारमा संलग्न दुई हजार ८११ जना तीन वर्षमा पक्राउ परेका छन्। प्रहरीले लागूऔषध नियन्त्रण अभियान चलाउँदा गाँजा, चरेस, अफिम र ब्राउन सुगरसहितका कारोबारमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ परेका हुन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा प्रदेशभर लागूऔषधसहित दुई हजार ८११ जना पक्राउ परेका छन्। यस अवधिमा दुई हजार १२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक छन्।
सबैभन्दा पछिल्लो आर्थिक वर्षमा ८७१ जना पक्राउ पर्दा ६३० वटा मुद्दा दर्ता भएका थिए। यस अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, दुई हजार ११८ सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद भएको थियो।
त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ पर्दा ५८५ वटा मुद्दा दर्ता भएका थिए। यस क्रममा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउन सुगर, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ वटा ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा एक हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा मुद्दा दर्ता भएका थिए। सो आर्थिक वर्षमा आठ हजार ५३९ किलोग्राम गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलोग्राम १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम ७ हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ वटा ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको थियो।
खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारत सीमाका औषधि पसलबाट लागूऔषध राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ। सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन तथा खरिद गरी नेपाल ल्याउने युवाको संख्या बढ्दो छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमा नाकामा जाँच कडा गरिएसँगै अधिकांशको साथबाट लागूऔषध बरामद हुने गरेको छ। लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्।
उनले अभिभावकविहीन युवा लागूऔषधको कुलतमा फस्ने गरेको बताए। पढाइ छोडेका वा काम नपाएर फुर्सदमा रहेका युवा साथीको बहकाउमा परेर दुव्र्यसनमा फस्ने गरेको उनको भनाइ छ। ‘हिजोआज बालबालिका, किशोरकिशोरी र महिला पनि यसमा फसेका भेटिन्छन्,’ उनले भने, ‘लागूऔषध दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र परिवार आफैं सचेत हुनुपर्छ।’
