एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी स्वीकार गर्दै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने नेकपा (एमाले)का नेता ठाकुर गैरेले बताएका छन्। उनले कार्यदल गठन गरेर घटना ढाकछोप गर्न खोजिएको आरोप लगाए।
‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ कार्यक्रममा बोल्दै गैरेले भारतमा शिक्षा आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण दिए। नेपालमा प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि सरकार जिम्मेवारीबाट उम्किन खोजेको उनको टिप्पणी थियो।
“भारतमा आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। नेपालमा एमबीबीएस प्रश्नपत्र लिक भयो। तर शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दै सरकार उम्किन प्रयास गरिरहेको छ,” गैरेले भने।
गैरेले सरकारको समग्र कार्यशैलीप्रति असन्तुष्टि जनाए। नेपाल–भारत सीमा विषयमा सरकारले स्पष्ट धारणा राख्न नसकेको आरोप उनले लगाए। प्रधानमन्त्रीले संसद्मा नेपालले भारतको भूमि मिचेको विषय उठाएको दाबी गरे। सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उनको भनाइ थियो।
एमालेभित्रको गतिविधिप्रति पनि उनले असन्तुष्टि जनाए। गत फागुन २१ गतेको निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बस्न नसकेको उल्लेख गरे। निर्वाचन परिणामको समीक्षा गर्न बैठक नबस्नु कम्युनिष्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको उनले बताए।
“फागुन २१ मा चुनाव भयो। आज साउन १० पुगिसक्यो। एमालेजस्तो पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। किन चुनाव हारियो भनेर समीक्षा गर्नुपर्ने हो। यसभन्दा ठूलो विडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ?” गैरेले प्रश्न गरे।
