सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश मंगलबार बिहान १२:१५ बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको कर्फ्यु फुकुवा गरिएको जानकारी दिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको यो आदेशले तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा रोक लगाएको थियो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु हटाइएको हो।
यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि सुनसरीको इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कर्फ्यु आदेश जारी गरिएको थियो।
देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएको बताइएको छ।
