भरतपुर–८ धारेचोककी तेजकुमारी कँडेलले तीन दशकअघि मकैसँगै कोदो रोपेर पाँच मूरीसम्म उत्पादन गरेकी थिइन्। पछिल्ला केही वर्ष खेती छाडेकी उनले अहिले पोषण र आर्थिक महत्व बुझेर समूहमार्फत पुनः खेती सुरु गरेकी छन्। ‘विगतमा कोदो रोपेर थाकेकी हुँ। मकैभित्र रोपेर पनि पाँच मूरीसम्म फलाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त किनेर खानुपर्ने अवस्था आएको छ।’
भरतपुरकी पूजा भूसालको अनुभव पनि यस्तै छ। पर्वतमा रहँदा घरमा ३० मूरीसम्म कोदो उत्पादन हुने गरेको स्मरण गर्दै उनले चितवन आएपछि खेती रोकेकी थिइन्। यस वर्ष डेढ कठ्ठा जमिनमा कोदो रोप्ने तयारी गरेकी छन्। ‘पहाडमा आमाबुवासँग कोदो रोप्न जान्थ्यौँ। हाम्रो घरमा कुनै दिन ६० जनासम्म खेताला हुन्थे,’ उनले भनिन्, ‘३० मूरीसम्म कोदो फल्थ्यो। अहिले खानकै लागि अरूलाई रोप्न दिएका छौँ।’
पहाडबाट बसाइँसराइ गरी आएका परिवारले कोदोभन्दा अन्य बालीलाई प्राथमिकता दिएपछि चितवनमा कोदो खेती घट्दै गएको थियो। त्रिपुरेश्वर कृषि सहकारी संस्थाको अभियानले यसमा परिवर्तन ल्याउन थालेको छ। भरतपुर–९ की कोपिला दुराले सहकारीमा आबद्ध भएपछि छाडेको कोदो खेती पुनः सुरु गरिन्। ‘लम्जुङमा जन्मिएकी हुँ। त्यहाँ सधैँ कोदो रोप्थ्यौँ,’ उनले भनिन्, ‘चितवन झरेपछि चार वर्ष कोदो रोपिएन। केही वर्षयता फेरि खेती गर्न थालेकी छु।’ वडा सदस्यसमेत रहेकी दुरा मगर समुदायमा कोदोको महत्व रहेको बताउँछिन्। ‘जनजाति भएका नाताले पनि हामीलाई रक्सी चाहिन्छ,’ उनले भनिन्, ‘यस वर्ष दुई कठ्ठा क्षेत्रफलमा कोदो रोप्दैछु।’
त्रिपुरेश्वर कृषि सहकारी संस्थाले छ वर्षदेखि हराउँदै गएको रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि सामूहिक कोदो खेती गर्दै आएको छ। संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाका अनुसार सहकारीको अभियानपछि सदस्य महिला व्यक्तिगत रूपमा पनि खेतीमा आकर्षित भएका छन्। ‘हामीले विगत छ वर्षदेखि सामूहिक खेती गर्दै आएका छौँ,’ उनले भने, ‘अभियानपछि महिला दिदीबहिनीले व्यक्तिगत रूपमा पनि कोदो रोप्न थालेका छन्।’
सहकारीले बाँझो जमिनमा कोदो खेती गर्न इच्छुक किसानलाई निःशुल्क बीउ उपलब्ध गराउँछ। ‘खाली जमिनमा खेती गर्न चाहनेका लागि बीउसमेत उत्पादन गरेका छौँ,’ सापकोटाले भने। यस वर्ष १३ कठ्ठा क्षेत्रफलमा सामूहिक कोदो खेती हुँदैछ। भरतपुर–८ र ९ क्षेत्रमा करिब १० बिघा जमिनमा कोदो खेती हुने उनले बताए।
सहकारीले उत्पादन भएको कोदोको पिठोसमेत बजारमा बिक्री गर्छ। पछिल्ला वर्षहरूमा कोदोको माग बढे पनि उत्पादन घट्दो छ। ‘हामी सहकारीमार्फत महिनामा १० क्विन्टलसम्म कोदोको पिठो बिक्री गर्छौं,’ उनले भने।
सहकारीले चार वर्षअघि काभ्रेबाट एक किलो रैथाने कोदो बीउ ल्याएर परीक्षण खेती गर्यो। त्यसबाट ४१ किलो बीउ उत्पादन भयो। यस वर्ष २२ किलो बीउ सदस्यलाई वितरण गरियो। अहिले सहकारी आफ्नै बीउ उत्पादन र संरक्षणमा जुटेको छ।
भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल कोदोलाई पोषणयुक्त बाली मान्छन्। यो कम उर्वर र रुखो जमिनमा पनि सहजै उत्पादन हुन्छ। ‘कोदो रुखो जमिनमा पनि हुन्छ,’ उनले भने, ‘यसले माटोको बढी अम्लीयपनसमेत सहन सक्छ।’ ८.५ पीएचसम्मको अम्लीय माटोमा पनि कोदो उत्पादन हुन्छ। यसले बढी पानी र सुक्खा दुवै अवस्था सहन सक्छ। रोगको प्रकोप पनि तुलनात्मक रूपमा कम लाग्छ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल कोदो किसानका लागि लाभदायक बाली भएको बताउँछन्। ‘राष्ट्रिय उत्पादकत्वभन्दा चितवनमा कोदोको उत्पादकत्व बढी छ,’ उनले भने, ‘चितवनमा प्रतिहेक्टर १.४५ मेट्रिक टन उत्पादन हुन्छ भने राष्ट्रिय उत्पादकत्व १.३ मेट्रिक टन मात्रै छ।’ गत वर्ष चितवनमा ७३९ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो। जिल्लामा कुल एक हजार ८९ मेट्रिक टन कोदो उत्पादन भयो।
भरतपुर महानगरपालिका–९ का वडा अध्यक्ष जीवलाल कँडेल रैथाने बाली संरक्षणमा वडा कार्यालय प्रतिबद्ध रहेको बताउँछन्। महानगरपालिकाले सञ्चालन गरिरहेको अभियानलाई वडा तहबाट थप प्रभावकारी बनाइने उनको भनाइ छ। हाल बजारमा कोदोको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याग्निज, भिटामिन–बी, ट्रिप्टोफेन, फाइबर तथा एन्टिअक्सिडेन्टलगायत पोषक तत्व पाइन्छन्। यसको माग निरन्तर बढ्दै गएको छ।
