नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन न्यायिक छानबिन समिति गठन गरिनुपर्ने निर्णय गर्यो।
महामन्त्री प्रदीप पौडेलले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै गृहमन्त्रीले गठन गरेको ‘कर्मकाण्डी समिति’ले सत्यतथ्य बाहिर ल्याउन नसक्ने बताए। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा यो विषयलाई जोडदार ढंगले उठाउने र समिति गठनका लागि दबाब दिने जानकारी दिए।
कांग्रेसले यस विषयमा अन्य विपक्षी दलहरूसँग सहकार्य गर्ने रणनीति लिएको छ। बैठकले सरकारका केही निर्णय संविधानको मर्मविपरीत भएको भन्दै सार्वजनिक निकायमा गरिने नियुक्ति र सिफारिस कानुनबमोजिम गर्न सरकारलाई सचेत गरायो।
बैठकले ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ र प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ समेत पारित गर्यो। कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल लगायत दिवङ्गतप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गर्यो।
