विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी एवं देवराज ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको निवासमा प्रहरीले गरेको छापाप्रति नेपाल उद्योग परिसंघ (सीएन) कोशी प्रदेशले आपत्ति जनाएको छ । मुन्दडा परिसंघका वरिष्ठ उपाध्यक्ष हुन् ।
परिसंघले सोमबार विज्ञप्ति जारी गर्दै बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी साढे पाँच घण्टासम्म मुन्दडाको निवास र कार्यालयमा गरिएको खानतलासीको भर्त्सना गर्यो । परिसंघका अध्यक्ष पवन कुमार सारडाले विज्ञप्तिमा भनेका छन्, ‘बिहान उज्यालो नहुँदै निजी निवास घेराबन्दी गरी परिवार र ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा राखियो । यसले उद्योगी–व्यवसायी समुदायको मनोबलमा गम्भीर चोट पुर्याएको छ ।’
राज्यलाई अनुसन्धानको अधिकार छ । तर, प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेको गोपनीयता र मानवीय मर्यादाको संरक्षण हुनुपर्ने परिसंघले जोड दिएको छ ।
परिसंघले कुन कानुनी आधारमा खानतलासी गरियो, त्यसको आधिकारिक जानकारी सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेको छ । साढे पाँच घण्टाको खानतलासीबाट के प्राप्त भयो, त्यो पनि स्पष्ट पार्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
मुलुक आर्थिक मन्दी, लगानी संकुचन र बेरोजगारी जस्ता चुनौती खेपिरहेको छ । यस्तो बेला उद्योगीलाई त्रसित बनाउने गतिविधिले लगानीको वातावरण थप कमजोर बनाउने परिसंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता शैलीले स्वदेशी–विदेशी लगानी निरुत्साहित हुन्छ । उद्योग–व्यवसाय पलायनको जोखिम बढ्छ ।’
परिसंघले निजी क्षेत्रलाई तर्साउने होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । अन्यथा, यस्ता घटनाले सिर्जना गर्ने अविश्वासले मुलुकको आर्थिक विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ । त्यसको जिम्मेवार सरकार नै हुनेछ ।
परिसंघ विधिको शासन र निष्पक्ष अनुसन्धानप्रति प्रतिबद्ध छ । तर, अनुसन्धानका नाममा नागरिक र लगानीकर्ताको आत्मसम्मानमा क्षति पुर्याएको स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
