नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी दिन खुला आह्वान गरेको छ। सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको पाइएमा उजुरी गर्न सबैमा आग्रह गरेको हो।
उजुरीका लागि आगामी भदौ ३ गतेसम्म म्याद दिइएको छ। यसअघिको ३५ दिने म्याद सकिएपछि पुनः २० दिन थप गरिएको हो।
उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा भएका अनियमितता छानबिन गरी पारदर्शी र सुशासन सुनिश्चित गर्ने उद्देश्यले यो आह्वान गरिएको बताए। उनले रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने लक्ष्यका साथ यो निर्णय लिइएको उल्लेख गरे।
तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल ([email protected]), निःशुल्क हटलाइन नं ११३० तथा ह्वाट्सएप नं ९७४१६९५०९७ मा उजुरी पठाउन सकिने व्यवस्था मिलाइएको छ। संयोजक घिमिरेले उजुरीकर्ताको पहिचान गोप्य राख्न चाहेमा गोपनीयता संरक्षण गरिने प्रस्ट पारे। प्राप्त सूचना तथा उजुरी निष्पक्ष, स्वतन्त्र र गोपनीय ढङ्गले व्यवस्थापन गरिने उनले बताए।
