मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनको न्यून चापीय रेखा तराई भू-भाग नजिक रहेकाले यस्तो अवस्था आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागका केही स्थानमा पनि सोही प्रकारको वर्षाको सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ।
भारी वर्षापछि गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने सम्भावना छ।
