अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकटमा परेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत दिने उपायबारे नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकहरूसँग छलफल गरेका छन्। अर्थ मन्त्रालयमा बुधबार साँझ भएको छलफलमा अर्थतन्त्र सुधारका लागि ठोस र व्यावहारिक सुझाव मागिएको थियो।
अर्थमन्त्री वाग्लेले केन्द्रीय बैंकका अधिकारीलाई ‘राष्ट्र निर्माणमा उपयोग हुनुपर्ने ज्ञान र अनुभव’ भएको भन्दै नागरिक र निजी क्षेत्रलाई सरकारले कसरी सहयोग गर्न सक्छ, स्पष्ट मार्गचित्र दिन आग्रह गरे। ऋण तिर्न नसकेर कालोसूचीमा परेका हजारौँ नागरिक तथा उद्यमीलाई पुनरुत्थानको अवसर दिनुपर्नेमा उनले जोड दिए।
राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले कोभिड महामारीको प्रभावका कारण अर्थतन्त्र अझै लयमा नफर्केको र कालोसूचीको समस्या समाधान गर्नु मुख्य चुनौती रहेको बताए। उनीहरूले सर्वसाधारणको बचत सुरक्षाको ग्यारेन्टी गर्दै कालोसूचीको मारमा परेका नागरिक र व्यवसायीलाई पुनर्जीवन दिन तत्काल राहतमूलक कदम चाल्नुपर्ने सुझाव दिएका छन्।
