NM Khabar 7 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सिइओसहित ३ पक्राउ, ३ अर्ब २० करोड हिनामिना

कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको घोटाला प्रकरणमा तत्कालीन सिइओ नीरजविक्रम शाह पक्राउ परेका छन्। शाहसहित उनकी श्रीमती र नेपालगन्ज शाखाकी तत्कालीन प्रबन्धकलाई पनि प्रहरीले पक्राउ गरेको छ। यस प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको छ।
Sunita Rai
Sunita Rai
7 August 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
कर्णाली डेभलपमेन्ट बैंक घोटाला
Share:

कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाह पक्राउ परेका छन्। प्रहरीले शाहलाई नेपालगन्जबाट पक्राउ गरेको हो।

शाहसहित उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन प्रबन्धक दीपा थापालाई पनि पक्राउ गरिएको छ। यस प्रकरणमा केही प्रतिवादी यसअघि नै पक्राउ परिसकेका छन्।

बैंकमा ठूलो आर्थिक घोटाला फेला परेपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। बिना धितो ऋण प्रवाह र ओभर भ्यालुएसन गरेर करोडौँ ऋण दिइएको तथ्य भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको थियो।

सीआईबीले बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकालेको छ। उच्च अदालत तुलसीपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा सीआईबीले १०९ जनालाई प्रतिवादी बनाएको छ। यस प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत यसअघि पक्राउ परिसकेका छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार