मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि पहिरो: पाँच घर उच्च जोखिममा

ओखलढुङ्गाको डाँडाखर्क गाउँमा दुई दशकदेखि निरन्तर पहिरो झरिरहेको छ। सिस्ने खोलाको कटानले सुरु भएको पहिरोले हालसम्म सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। पहिरो नियन्त्रणका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग गुहार माग्दा पनि ठोस पहल नहुँदा पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
डाँडाखर्क पहिरो जोखिम
Share:
१५६

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि झरिरहेको पहिरोले पाँच घरपरिवारलाई उच्च जोखिममा धकेलेको छ। सिस्ने खोलाको निरन्तर कटानले सुरु भएको यो पहिरो दिनप्रतिदिन फैलिँदै छ। स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्।

डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत सखाप पारेपछि राईबहादुर राई लखेटिएर डाँडाखर्क पुगेका थिए। दुःखसुख गरेर नयाँ ओत हालेको उनको आँगनसम्म अहिले पहिरो आइपुगेको छ। “उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो”, पहिरोपीडित राईबहादुर भन्छन्, “हिउँद होस् वा वर्षा, पहिरो झर्न छाड्दैन। न त कतै जाने ठाउँ छ, न त रातभर निदाउन नै सकिन्छ।”

पहिरोले घरबास मात्र होइन, स्थानीय बासिन्दाको वर्षौँदेखिको मिहिनेत र उब्जाउ जमिनसमेत बगरमा परिणत गरिदिएको छ। अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा बगेको छ। खेतबारी पहिरोमा रुपान्तरण भएपछि किसान जीविकोपार्जनको चिन्तामा छन्।

विज्ञापन

पहिरो समयमै रोक्न नसके डाँडाखर्कका पाँच घरमात्र होइन, सिङ्गो बस्ती नै सखाप हुने स्थिति छ। “पहिरोको शिरमै गाउँ छ, गाउँका अरू ४० घरपरिवार पनि उत्तिकै जोखिममा छन्”, स्थानीय बीरकाजी राई भन्छन्, “सुरुमै रोकथामका लागि घेराबार वा तटबन्ध बनाइदिएको भए यस्तो बिजोग हुने थिएन।”

पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र सङ्घ तीनै सरकारसँग गुहार मागिसकेका छन्। तर, नियन्त्रणका लागि ठोस र प्रभावकारी काम हुन नसक्दा जोखिम झन् बढेको छ।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर लगिसके पनि राज्यलाई भूमिकर (तिरो) भने निरन्तर बुझाउनुपरेको छ। राज्यबाट पाउनुपर्ने राहत र नियन्त्रणको काम भने हुन नसकेको भन्दै पहिरोपीडितले दुखेसो पोखेका छन्। “पहिरोले जग्गाजमिन बगाएर लगिसक्यो, पहिरोमा भएको जमिनको भूमिकर भने राज्यलाई तिरिरहनुपरेको छ”, पहिरो पीडित गीतामाया राई भन्छिन्, “तर राज्यबाट पहिरो नियन्त्रणको काम हुन सकेन, राहतको कार्यक्रम आउन सकेन।”

डाँडाखर्कको यो समस्या ओखलढुङ्गा जिल्लाभरको प्रतिनिधि उदाहरण हो। जिल्लाका दर्जनौँ स्थानमा दशकौँदेखि ठूला पहिरोले नागरिकलाई पिरोल्ने गरेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार