विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ। यो बक्यौता गत आर्थिक वर्षको प्रगति विवरणमा सार्वजनिक भएको हो।
बारा–पर्सा औद्योगिक करिडोरका ४ ठूला उद्योगको डेडिकेटेड र ट्रङ्क लाइन महसुल प्रमुख छ। विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार यी ४ उद्योगको मात्रै ७ अर्ब २१ करोड रुपैयाँ बक्यौता छ।
सिमरास्थित हुलास स्टिल, जगदम्बा, अशोक स्टिल र हामा आइरनमध्ये जगदम्बा स्टिलको सबैभन्दा बढी १ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ। तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकालमा जगदम्बाले एक किस्ता र बाँकी तीन उद्योगले दुई किस्ता बुझाएका थिए।
प्रमुख महतले गत वर्षको मंसिरदेखि उद्योगहरूले ट्रंक र डेडिकेटेड लाइनको किस्ता बुझाउन छाडेको बताए। उनले भने, ‘बिचमा एक पटक पत्राचार भएको थियो, त्यसपछि कुनै प्रगति भएको छैन।’ डेडिकेटेड र ट्रंक लाइनको बक्यौताले शतप्रतिशत असुली रोकेको छ।
सिमरा वितरण केन्द्र अन्तर्गतका औद्योगिक ग्राहकबाट मात्रै ४ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठ्नुपर्नेछ। केन्द्रमा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगीसहित ४२ हजार उपभोक्ता आबद्ध छन्।
गत आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले कुल ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गर्यो। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ४२ करोड संकलन भएको थियो। दुई वर्षअघिको तुलनामा अघिल्लो वर्ष विद्युत् उपभोग बढेसँगै राजस्व वृद्धि भएको हो। पछिल्लो आर्थिक वर्षमा ८८० नयाँ ग्राहक थपिए।
प्रमुख महतले मिटर अभावले अपेक्षित २ हजारभन्दा बढी ग्राहक थपिनुपर्नेमा थोरै मात्र थपिएको बताए। प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् लाइन काटेर ११ करोड ६० लाख रुपैयाँ असुली गर्यो। विद्युत् चुहावट २.०६ प्रतिशतमात्रै छ।
सिमरा वितरण केन्द्रमा चुहावटको समस्या खासै छैन। केन्द्रले ११ केभी लाइन मर्मतसम्भार जस्ता सुधारका काम गरेको छ। जीतपुरसिमरा–१६ को पिलुवा स्वस्टेशनबाट वडा नं ४ को औराहासम्म विशेष आर्थिक क्षेत्र (सेज) मा ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।
विद्युत् बिक्री २०८१/०८२ मा ५७ करोड ३९ लाख युनिट थियो। २०८२/०८३ मा ६६ करोड ७४ लाख युनिट बिक्री भयो। प्रमुख महतका अनुसार एक वर्षमा ९ करोड ३४ लाख युनिट विद्युत् खपत बढ्यो। राजस्व अघिल्लो वर्षको तुलनामा गत वर्ष ७७ करोड १० लाख रुपैयाँले वृद्धि भयो।
