नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ। निगम सञ्चालक समितिले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो। यो निर्णय भदौ १ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र उतारचढाव आएको छ। यसले गर्दा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न निगम असमर्थ भएको छ। निगमले उपभोक्ता हितलाई ध्यानमा राखी मूल्य नबढाइएको जनाएको छ। यसअघि साउन १८ गतेदेखि मूल्य बढाइएको थियो।
निगमले विभिन्न डिपोलाई वर्गिकरण गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। सुर्खेत र दाङ दोस्रो वर्गमा छन्। काठमाडौं, पोखरा र दीपायल तेस्रो वर्गमा परेका छन्। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वर्गअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम छ।
