नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। थापालाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए।
उनीहरूमाथि भक्तपुरमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरी ठगी गरेको र संस्थालाई हानी पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पूर्वअध्यक्ष थापासहित भक्तपुरका राजेश देशमरु (५२), नुवाकोटका उमेश प्रसाद ढकाल (५७), भक्तपुरका मदन कृष्ण फोजु (५८) र काठमाडौँका इन्द्र बहादुर केसी (६७) छन्। पूर्वअध्यक्ष थापा उदयपुरका हुन्।
