राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा, पदाधिकारी मनोनयन र ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणलगायतका महत्त्वपूर्ण एजेन्डासहित केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आगामी भदौ ५ गते शुक्रबार बिहान ११:०० बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए।
बैठकमा पार्टीको साङ्गठनिक व्यवस्थापनअन्तर्गत रिक्त केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभिन्न विभागीय प्रमुखहरूको मनोनयन गर्ने प्रमुख कार्यसूची तय गरिएको छ। स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयनसमेत बैठकबाट गरिनेछ।
स्थानीय निर्वाचनलाई लक्षित गरी तयार पारिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई अनुमोदन गर्ने र जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ सम्बन्धी नीतिगत दस्तावेज निर्माण गर्ने विषय पनि कार्यसूचीमा समावेश छ।
यसैगरी, पार्टीका केन्द्रीय सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहसम्मै ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बैठकमा प्रस्तुत गरिनेछ। पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने महामन्त्री आचार्यले बताए।
