बैंकको कर्मचारी बताउँदै फोन र ह्वाट्सएपमार्फत ओटीपी कोड मागी ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ‘केवाईसी अपडेट गर्नुपर्यो’ भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको पाइएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले अभय तिवारी (बारा), जयकुमार केवट (नवलपरासी), विद्यासागर केवट (नवलपरासी) र कुवेर थापा (पर्सा) लाई पक्राउ गरेको हो।
यो गिरोहले बहालवाला र अवकाशप्राप्त कर्मचारीहरूलाई लक्षित गरी ठगी गर्ने गरेको थियो। उनीहरूले बैंकबाट बोलेको दाबी गर्दै फोन वा ह्वाट्सएप कल गर्ने गरेका थिए। पीडितलाई मोबाइल स्क्रिन सेयर गर्न लगाएर ओटीपी कोड प्राप्त गरिन्थ्यो।
सोही ओटीपी कोडको प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याइन्थ्यो। त्यसपछि रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
साइबर ब्युरोले अपरिचित व्यक्तिले बैंकको कर्मचारी भएको दाबी गर्दै ओटीपी, पासवर्ड वा स्क्रिन सेयर गर्न आग्रह गरेमा त्यस्तो विवरण नदिन आग्रह गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
