बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा बिहीबार दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन्। घरमाथिबाट खसेको पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराका घर पूर्ण रूपमा ढालेको छ।
वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरेको छ। भिरालो जमिनका कारण आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा छन्।
गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन्। पहिरो दिउँसो गएकाले स्थानीय सुरक्षित स्थानमा सरेका थिए। मानवीय क्षति भने भएको छैन। घरभित्रका अन्नपात, भाँडाकुँडा र धनमाल पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घट्मुनाबाट प्रहरीसहितको टोली उद्धार सामग्री लिएर घटनास्थलतर्फ खटिएको छ। केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल लाग्छ।
