नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्। उनले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन आयोजना गरिए कांग्रेसमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने चेतावनी दिएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोइरालाले ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजकको हैसियतमा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे कांग्रेसका सबै संरचनामा विभाजनको प्रक्रिया सुरु हुने दाबी गरेका हुन्। पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोमा उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
पार्टी निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएका थिए। सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त निवेदनमा पुनरावलोकनको अनुमति (निस्सा) दिइसकेको छ र मुद्दा हाल विचाराधीन रहेको छ। यस्तो अवस्थामा संस्थापनले महाधिवेशनको मिति तोक्नु न्यायालयको अवहेलना र पार्टी विधानविपरीत भएको कोइरालाको जिकिर छ।
गत साउन २९ देखि ३१ गतेसम्म कोइरालाको अध्यक्षतामा भएको राष्ट्रिय भेलाले पनि देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने अडान राखेको थियो। यसैबीच, १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने प्रयास गरेको छ।
कोइरालाले पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित भएको दाबी गरेका छन्। यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षबाट हुने अधिवेशन तथा महाधिवेशनलाई अवैधानिक र विभाजनकारी भन्दै त्यस्ता गतिविधि आयोजना नगर्न तथा नगराउन उनले आग्रह गरेका छन्। पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन उनले अपिल गरेका छन्।
उनले यस्तो विभाजनले आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत कांग्रेसलाई निकै नकारात्मक असर पार्ने बताएका छन्।
