NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपाका सांसदहरू संसद छलेर टाप कस्ने प्रवृत्ति: कारबाही प्रक्रिया अघि बढ्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ। गणपूरक संख्या नपुग्दा संसदको बैठक प्रभावित भएपछि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सांसदहरूको हाजिरी विश्लेषण गर्न निर्देशन दिएका थिए। अनुपस्थित सांसदहरूलाई सचेतसहित कारबाही गर्ने तयारी छ, तर व्यक्तिको नामावली सार्वजनिक गर्ने विषयमा छलफलपछि निर्णय हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
रास्वपा सांसद हाजिरी
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ। पछिल्लो समय गयल हुनेमा सत्ताधारी सांसदहरू नै बढी देखिन थालेपछि रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले हाजिरी विश्लेषण गर्न आफ्ना सचेतकलाई निर्देशन दिएका थिए।

प्रतिनिधि सभामा रास्वपाको दुई तिहाइ नजिक सिट छ। गणपूरक सङ्ख्या नपुग्दा संसद बैठक प्रभावित हुन थालेपछि बुर्लाकोटीले साउन २२ गते संसद् सचिवालयबाट हाजिरी झिकाए। उनले सात दिनभित्र प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका थिए। उनले असार ३० र ३१, साउन १४, १८ र २२ गतेको हाजिरी विश्लेषण गर्न भनेका थिए।

मुख्य सचेतक बुर्लाकोटीले पाँच दिनको हाजिरी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेस गर्न सचेतकहरूलाई निर्देशन दिएको बताए। ‘संसद् सचिवालयबाट पाँच दिनको हाजिरी झिकाएर अध्ययन भइराखेको छ। ती दिनहरूमा को–को अनुपस्थित रहे? कति जना हाजिरी गरेर फर्किए? कति जना बैठकमा पूरै समय बसे? यी सबै विश्लेषण गरी प्रतिवेदन बनाउँदैछौँ’, बुर्लाकोटीले भने।

अहिले रास्वपाको नेतृत्वमा सरकार छ। संसदमा सार्वजनिक महत्त्वका विधेयक पारित गर्न संख्यागत रूपमा अप्ठ्यारो छैन। यद्यपि साउन २६ गतेको संसद् बैठकमा गणपूरक संख्या नपुग्दा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन। संविधानअनुसार निर्णयका लागि कम्तीमा ६९ सांसद आवश्यक पर्छ। ६१ जनामात्र उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव भदौ १ गते पेस गरिने जानकारी दिए।

नेपालको संविधानको धारा ९४ ले संसदमा गणपूरक सम्बन्धी व्यवस्था गरेको छ। कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न एक चौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ। उक्त बैठकमा सत्ता पक्षकै सांसदहरू न्यून उपस्थित भएपछि सदनमा प्रश्न उठेको थियो। मुख्य सचेतक बुर्लाकोटीले दिएको निर्देशन पालना नहुँदा रास्वपा सांसदहरू संसदप्रति गम्भीर नदेखिएको आरोप लाग्यो।

व्यक्तिको नामावली सार्वजनिक गर्ने कि नगर्ने विषयमा सचेतकहरूबिच छलफलपछि निर्णय लिने बुर्लाकोटीले बताए। ‘ती दिनमा संसदमा कति जना उपस्थित भए भनेर भन्न सकिन्छ, तर व्यक्तिको नामावली सार्वजनिक अहिले मिल्दैन। सचेतकहरूसँग छलफल गरेर के गर्ने भन्ने निर्णय लिन्छौँ’, उनले भने। संसदमा अनुपस्थित सांसदहरूलाई सचेतसहित कारबाही गर्ने उनको भनाइ छ।

भदौ १० गते चीनको तिब्बतबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भयो। यस कारण संसद् बैठक प्रभावित भयो। प्रभावित क्षेत्रका बासिन्दालाई उद्धार, राहत र व्यवस्थापन गर्नुपर्ने भएकाले संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। रास्वपाले नियमित कार्यतालिका स्थगित गरी प्रभावित क्षेत्रमा जान नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार