नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटिएको छ। सोमबार सुरक्षाकर्मीले ६ शव निकालेका छन्। बाँकी १६ शव मंगलबार निकालिनेछ।
बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेत्रावती बजार तहसनहस बनाएको थियो। बाढी आएको छैटौँ दिनपछि सोमबार लेदोले पुरिएको घरभित्र २२ शव भेटिएको हो।
बाढीका बेला ती मानिसहरू घरमा भेला भएको हुन सक्ने अनुमान छ। भेटिएका शव पहिचान गर्न नसकिने अवस्थामा छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरे। उनले सोमबार केही शव निकालिएको र बाँकी संकलन मंगलबार गरिने बताए।
पत्रकार लक्ष्मण डंगोलले तत्काल खोजी गर्न प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई आग्रह गरेका थिए।
