काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर कदर गरियो।
गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत जेनजी सहिदका सन्तानलाई १२ कक्षासम्मको शैक्षिकवृत्ति र उनीहरूका बुवाआमालाई आजीवन स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ। यो सहयोग कार्यक्रमको घोषणा जेनजी आन्दोलनको एक महिनापछि २०८२ असोज २४ मा गरिएको थियो।
प्रतिबद्धता अनुसार फाउण्डेशनले हालसम्म २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ सहिदका ४३ आमा–बुबालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान गरेको छ। शैक्षिकवृत्ति कक्षा १२ सम्म र स्वास्थ्यबिमा आजीवन रहनेछ। यसका लागि फाउण्डेशनले वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ।
कार्यक्रममा अध्यक्ष गोल्याणले सहिद परिवारको शिक्षा र स्वास्थ्यमाथिको प्रतिबद्धता सधैँका लागि रहेको बताए। ‘यो बचन आज गरेर भोलि बिर्सिने बचन होइन,’ उनले भने, ‘सहिदहरुको सम्मानमा उहाँहरूको सन्तान र बुबाआमाको सुरक्षित भविष्यको लागि निरन्तर रहन्छ।’ उनले जेनजी आन्दोलनपछि सहिद परिवार र उनीहरू अध्ययन गर्ने विद्यालयहरूको भ्रमणपछि सहिद परिवारको सुरक्षित भविष्यका लागि आफूलाई कर्तव्यबोध भएको उल्लेख गरे।
शैक्षिकवृत्ति योजनाअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ प्रदान गरिन्छ। यस अन्तर्गत बालबालिकाहरू काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डि. ए. भि. सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन्।
यसैबीच, जेनजी आन्दोलनको एक वर्ष पुग्दा आन्दोलनका अगुवाहरूले सत्ता फेरिए पनि राज्य सञ्चालनको पुरानो शैलीमाथि प्रश्न उठाइरहेका छन्। नातावाद, कृपावाद, भ्रष्टाचार, कुशासन, अपारदर्शिता र जवाफदेहिताको अभावविरुद्ध सुरु भएको आन्दोलनले उठाएका आधारभूत प्रश्नहरू अझै जीवित रहेको उनीहरूको भनाइ छ। आन्दोलनका घाइते सन्तनु ढकालले निःशुल्क उपचार र छात्रवृत्तिको माग अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताए। जेनजी अभियन्ता युजनराज भण्डारीले सुशासन र भ्रष्टाचार नियन्त्रणमा अपेक्षाअनुसार काम नभएको उल्लेख गर्दै सरकारले आन्दोलनको मर्मलाई कानुनमा लागू गर्नुपर्नेमा जोड दिए। माजिद अन्सारीले आन्दोलनमा गोली चलाउनेलाई कारबाही र घाइतेको उपचारका लागि विशेष कानुनी व्यवस्था नभएकोमा प्रश्न उठाए। मिराज ढुङ्गानाले वर्तमान सरकार आन्दोलनको मर्मअनुसार अघि बढ्न नसकेको र यसलाई ट्र्याकमा ल्याउनुपर्ने बताए। तनुजा पाण्डेले जनताको आशालाई अविश्वासमा परिणत नगर्न सरकारलाई आग्रह गरिन् भने रक्षा बमले राज्यले प्रश्न सोध्ने नागरिकलाई शत्रु नठानी जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरिन्।
